|  

धरानकाे कार्यवाहक मेयर फागोले मानेनन् अदालतको आदेश

०५ कात्तिक, काठमाडौं । धरानका वडाअध्यक्ष एवम् कार्यवाहक मेयर लोकेन्द्रकुमार फागोले अदालतको आदेश अटेर गरेका छन् ।

वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले दिएको आदेशलाई उनले अटेर गरेका हुन् । उनले मेयरको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहेका छन् । फागोले अदालतबाट आएको पत्रसमेत बुझ्न नमानेको बताइएको छ । उनले आज पनि कार्यवाहकको हैसियतमा दुई वटा फाइल अघि बढाएको बताइएको छ ।

यता फागोले भने अदालतबाट पत्र नआएको जिकिर गरेका छन् । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थिए । आफू हुँदाहुँदै बाइपास गरेर वडाध्यक्षलाई कावा दिए साम्पाङ बेलायत उडेपछि उपमेयर आइन्द्रविक्रम बेघा कात्तिक ४ गते अदालत पुगेका थिए । मुद्दाको अर्को सुनुवाइ भोलि रहेको छ । कावा दिइएका वडाध्यक्ष फागो साम्पाङका मामा ससुरासमेत हुन् ।