|  

देशलाई निकास दिन कांग्रेस–एमालेबीच गठबन्धन : उपमहासचिव ज्ञवाली

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । 

एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, ‘देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।’ उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत बताए । 

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि  माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो । उनले भने, ‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक संकेत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ ।’

उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाले भरिएको जिल्ला भएको बताए । उनले २४ वर्षपछि आफू यहाँ आउँदा धेरै परिवर्तन भएको पाएको बताए । उनले आफू यहाँ आएर नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाशको समेत दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे । सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोड्ने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुनर्निर्माणलाई सरकारले ध्यान दिने उनको भनाइ थियो ।