|  

यो सरकार भ्रष्टाचारीको संरक्षक हो भनेर प्रधानमन्त्रीले नै पुष्टि गरे :अध्यक्ष प्रचण्ड

५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । 

प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएका हुन् । 

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईँहरूले सबै देखिरहनुभएको छ’– अध्यक्ष प्रचण्डले भने,  ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरेको छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियता नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदमी लिइरहेको बेला सांसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताए । 

उनले भने, ‘देशमा महत्त्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खास गरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानीलकण्ठ र बालकोटमा निकै ठुलो भूकम्प गयो र रातारात अस्वभाविकरुपमा सरकार बनाइयो ।’ 

उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्द्धनलाई अघि बढाएको बताए ।