|  

न्यायपालिकालाई लयमा फर्काउने प्रधानन्यायाधीशको प्रतिबद्धता

५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई थप प्रभावकारी र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले न्यायपालिकालाई लयमा फर्काउन निष्ठा र निष्कलंक छविका न्यायाधीशहरूको साथमा काम गर्न दृढ संकल्प व्यक्त गरे।

उनले अदालतभित्रका चुनौती र असहज परिस्थितिहरूलाई समाधान गर्ने दायित्व आफूले पूरा गर्ने जिकिर गरे।

प्रधानन्यायाधीश राउतले न्यायालयका समस्याहरू समाधान गर्न सञ्चारकर्मीहरूको साथ र सहयोगको अपेक्षा राखेको बताउँदै भने, "यो अदालत नागरिकका हक र अधिकारका लागि प्रतिवद्ध छ । सञ्चारकर्मी मित्रहरूले न्यायालयका कुराहरू जनसमक्ष पुर्‍याउनु जरुरी छ। म तपाईंहरूको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छु र त्यसको संरक्षणमा हामी लागिपर्नेछौं।"

उनले सञ्चारकर्मीहरूसँग संवाद र सूचना आदानप्रदानलाई बढाउनुपर्ने आवश्यकता औंल्याउँदै न्यायिक नेतृत्वले सञ्चारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्न चाहेको सुनाए।

साथै, उनले न्यायालयभित्र रहेका समस्याहरू समाधान गर्ने नैतिक जिम्मेवारी आफूले लिने प्रतिबद्धता पनि जनाए । प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रण गरे।