|  

अदालतले रविलाई बुधबार छोड्ने सन्तोष परियारकाे दाबी

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले सभापति रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् ।

सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गरेका हुन। उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए ।

उनले नेपालको इतिहासमा खास-खास समयमा अदालतले न्याय सम्पादन गरेको स्मरण गरे। सरकारले अदालतको न्याय प्रणालीलाई बिगार्ने काम गरेको उनको आरोप थियो ।   

प्रमुख सचेतक परियारले सरकारविरुद्ध लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको धारणा राखे। साथै पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकारविरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गरे ।