|  

खुर्कोट पुल निर्माणमा खटिएका प्राविधिक र सेनाका जवानहरु सम्मानित 

०६ कात्तिक, काठमाडौं । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम नेपाली सेनाका जवानहरू सम्मानित भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले असोज १२ गतेको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान र्पुयाएको भन्दै उनीहरुलाई सम्मान गरेका हुन् । आज बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको पनि बताए । 

सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको थियो । बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा ल्याइएको छ ।