|  

ओली आफ्नालाई बचाउँदै विरोधीलाई खोजीखोजी सिध्याउने शैलीमा अघि बढेः प्रचण्ड

०६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका नाममा आफ्नालाई बचाउने खेलमा लागेको आरोप लगाएका छन ।

कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि भन्दै आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समितिको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ओली आफ्नालाई बचाउने तर, विरोधीलाई खोजीखोजी सिध्याउने शैलीमा अघि बढेको प्रचण्डको जिकिर छ । सरकारले गर्नुपर्ने काम नगरेको तर, गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डको छ । सरकारको १०० दिने अवधि जनविरोधी देखिएको र जनतामा चरम निराशा बढाएको प्रचण्डको भनाइ छ ।

उनले उद्योगहरूबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनस्र्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैँ भ्रष्टाचारीको संरक्षकका रूपमा प्रस्तुत भएको आरोप प्रचण्डले लगाए। जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट दबाब दिनुपर्ने अवस्था आएको उनले बताए ।