|  

अदालतभित्र छविलाल जोशीको बयान जारी, बाहिर पीडितहरूको विरोध प्रदर्शन

०६ कात्तिक, काठमाडौं । सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका छन ।

सरकारी वकिल कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला पीडितहरूले बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शन गरेका हुन । पीडितहरूले सरकारी वकिल कार्यालयअघि प्रदर्शनको तयारी गरेका थिए । तर, प्रहरीले त्यहाँ प्रदर्शनमा रोक लगाएपछि झण्डै ५० मिटरको दूरीमा रहेको जिल्ला अदालतअघि प्रदशर्न गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जानकारी दिएका छन् । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप पनि लगाएका छन् ।

प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको आरोप समेत लगाएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानमा रहेका जोशीलाई सोमबार जहाजमार्फत बुटवल ल्याइएको थियो । उनलाई मंगलबार र बुधबार बयान गरेर बिहीबार पोखरा नै फिर्ता गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिको सिफारिसमा असोज ६ गते जोशी पक्राउ परेका थिए । सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगी अनुसन्धान भइरहेको छ ।