|  

बाढीपहिरोका कारण अवरुद्ध सबै राजमार्ग खुले

०६ कात्तिक, काठमाडौं । गत असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु खुलेका छन् ।

बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति र्पुयाएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सम्ममा सञ्चालनमा आएका हुन । ३४ वटा सडकका ८ सय ८ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भत्किएको सडक र बाढीले बगाएको पुल निर्माण गर्न झन्डै २० अर्बदेखि २५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयले निकालेको विज्ञप्तीमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी गाडी सञ्चालन गरेको उल्लेख छ । अन्य राजमार्गहरुमा यात्रा सहज हुन थालेपनि बीपी राजमार्ग अझै कष्टपूर्ण छ ।

यसैबीच सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशीको बेलिब्रिज २५ दिनपछि सञ्चालनमा आएको छ । सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज तयार भएको छ ।