|  

नेपाललाई संसारमा हेर्न लायक बनाउने रक्षामन्त्रीको दाबी

०६ कात्तिक, काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाललाई संसारमा हेर्न लायक बनाउने गरी काम गरिरहेको बताएका छन् ।

आज मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई राष्ट्र, राष्ट्रियता र विकासको हिसावले सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढ्ने बताए ।

मन्त्री राईले सबैको एकताले नै मुलुकको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता मजबुत बन्ने बताए । मन्त्रालयले सय दिनमा राज्य सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत परियोजना र रक्षा मन्त्रालय र नेपाली सेनाले जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा गरिएको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदाउपर विभिन्न मन्त्रालयबाट प्राप्त राय÷सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावालोकन र परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।