|  

सवारी दुर्घटनाका घाइते मोटरसाइकल चालकको मृत्यु

०६ कात्तिक, काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका-२, बरमझियास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाका घाइते मोटरसाइकल चालकको ज्यान गएको छ ।

यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते स.५ प.१५९३ नम्बरको मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका-१ का २५ वर्षीय सुमित पण्डितको उपचारको क्रममा मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ तीव्र गतिमा जाँदै गरेको प्र.१-०१-००१ ख ४१२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल गत आइतबार ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो । बस पल्टिदा बसमा सवार धनकुट्टा साँगुरीगढी गाउँपालिका-४ का ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते पण्डितलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात तत्कालै विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते ८ जनालाई उपचारका लागि विराटनगर पठाइएको थियो । अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भएको छ । विराटनगरमा उपचाररत अन्य घाइतेहरुको उपचार भइरहेको र उनीहरूको अवस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।