|  

संसदीय समितिमा विचाराधीन विधेयक टुंग्याउन सभापतिहरूलाई सभामुखको निर्देशन

०६ कात्तिक, काठमाडौं ।संसदीय समितिमा विचाराधीन विधेयकहरू चाँडो टुंगोमा र्पुयाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।

संसदीय समितिका सभापतिहरूसँग आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले कानुन निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन । सभामुख घिमिरेले आज समिति सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्दै समितिमा विचाराधीन विधेयकहरूलाई टुंगोमा र्पुयाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन ? त्यसलाई पास गर्न कति समय लाग्छ ? भनेर सभामुखले चासो देखाएको जानकारी दिए । बैठकमा समिति सभापतिहरूले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिनका लागि पनि संसदीय समितिमा विचाराधीन विधेयक टुंगोमा र्पुयाउनुपर्ने सभामुखको भनाइ छ ।

अर्थ समितिमा भन्सार विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक विचाराधीन छन । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक विचाराधीन रहेको छ । राज्यव्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र संघीय निजामति सेवा विधेयक विचाराधीन रहेका छन् ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विचाराधीन रहेका छन । कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक विचाराधीन रहेको छ भने पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक र विद्युत विधेयक विचाराधीन रहेका छन् ।