|  

औषधि लिमिटेडले भन्यो-बजारमा सिटामोल अभाव छैन

०९ कात्तिक, काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव नभएको प्रष्ट पारेको छ ।

लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको जानकारी दिएका हुन् । सिटामोलसँगै जीवनजल लगायत अन्य औषधि पनि उत्पादन भइरहेको उनको भनाई छ । उनले दैनिक ३ लाख सिटामोल उत्पादन भइरहेको जानकारी दिए । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो । खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।