|  

बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको आश्वासन

०९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको सिस्नेरीमा ६ जना बाल खेलाडीहरू पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फूटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका ६ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको भन्दै उनले पीडित परिवारहरूको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापरवाही देखिएको बताए । खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्त्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरूको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानबिन गर्न आवश्यक भएको उनको भनाई छ ।

राजधानीमा छतमा बसेर गुहार माग्दा समेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको भन्दै उनले यिनै विषयहरू समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारी रूपमा सरकारसम्म र्पुयाउने प्रतिबद्धता व्यक्त गरे । घटनाको निष्पक्षमा छानविन गरी दोषका आधार कारवाही, मृतक खेलाडीहरूलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमित प्रशिक्षण खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरूको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उनले बताए । अध्यक्ष प्रचण्डले संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबैसँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गरे ।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापरवाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।