|  

सगरमाथा निकुन्जले लगायाे खुम्बुमा ब्यवसायिक हेलिकप्टर उडानमा रोक

०९ कात्तिक, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदुषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाइएको हो । निकुन्ज, नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले स्याङबोचे क्षेत्र भन्दामाथि व्यवसायिक उडान नगर्न नागरिक उड्ययन कार्यालय लुक्लालाई पत्राचार गरेको छ । निकुन्जको कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेका छन् । 

यता प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुन्जको निर्देशन मान्नु पर्ने आवश्यकता नरहेको बताएको छ । आफ्नो तालुक निकाय राष्ट्रिय निकुन्ज नभएको भन्दै निकुन्जले भनेकै आधारमा हेलिकप्टर उडानमा रोक लगाउन नसकिने नागरिक उड्ययन कार्यालय लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।