|  

६० किलो सुन तस्करी प्रकरणः ७ जना अभियुक्त धरौटीमा रिहा

०९ कात्तिक, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ७ जना अभियुक्त सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् ।

जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका मध्ये ७ जना सर्वोच्चको आदेशपछि रिहा भएका हुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ साउन २०८० मा बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेर मुद्दा चलेका मध्ये ७ जना रिहा भएका हुन । रिहा हुनेहरुमा दोलखाका ४४ वर्षीय किशोर बस्नेत, काठमाडौंका ५८ वर्षीय कुमार ढकाल, कैलालीका ५० वर्षीय सन्तोष चन्द, काठमाडौंकै ५० वर्षीय सरोज श्रेष्ठ, खोटाङका ४६ वर्षीय राजेन्द्र कुमार राई, दोलखाका ५४ वर्षीय रामकुमार भुजेल र शिवकुमार सरार्फ रहेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको आदेशले ११ असोजमा उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरु धरौटी बुझाएर रिहा भएका हुन । केन्द्रीय कारागार सुन्धारामा रहेका किशोर बस्नेत १४ असोजमा २ लाख धरौटी बुझाएर रिहा भएका थिए । शिवकुमार सर्राफ ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । सन्तोष चन्द पनि असोजमै ५ लाख धरौटी बुझाएर रिहा भएका छन । कुमार ढकाल ५ लाख धरौटी बुझाएर रिहा भएका छन । रामकुमार भुजेल २ लाख, सरोज श्रेष्ठ २ लाख र राजेन्द्र कुमार राई २ लाख धरौटी बुझाएर रिहा भएका हुन ।

धरौटी नबुझाएका पर्साका ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ अहिले सुन्धारा कारागारबाट ३ कात्तिकमा डिल्लीबजार कारागार सरुवा भएका हुन । सुन तस्करी प्रकरणमा उनीहरुलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उनीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चले जिल्ला र उच्चको आदेश उल्टाउँदै उनीहरुलाई सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा गर्न दिइएको आदेश भने सार्वजनिक भइसकेको छैन । उक्त सुनको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो । जसमा २५ जनाविरुद्ध ३१ भदौ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दताए भएको थियो ।

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा ल्याएको ६० किलो भन्दा बढी राजश्व अनुसन्धान विभागले सुन २ साउन २०८० मा बरामद गरेको थियो । अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भयो। १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिएका थिए । उनी तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।