११ कात्तिक, काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टको एउटा भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जसमा विराज कुनै कुरामा असन्तुष्ट भएर फुलको बुके मिल्काएको देखिन्छ । यो घटना हिजोको हो । आफ्नो चलचित्र ‘१२ गाउँ’ को प्रवर्द्धधनका क्रममा बाँकेको नेपालगन्जस्थित क्यूएफएस हल भिजिटका लागि छोरा समिरलाई लिएर पुगेका थिए बिराज । हल सञ्चालकले उनलाई फुलगुच्छा दिएर स्वागत गरेर भित्र लगेर बसाले ।
तर, बिराजको अनुहारमा खुशी भन्दा पनि क्रोध थियो । यो क्रोधको कारण रहेछ, हलबाहिर ‘१२ गाउँ’को ठूलो ब्यानर नदेख्नु ।
उनले आफ्नो चलचित्रको पोष्टर देखिने ठाउँमा नराखिएको भन्दै हल सञ्चालकसँग आक्रोश पोखेका थिए । यही क्रममा आफूलाई दिइएको फुलगुच्छा मिल्काइदिएका हुन् । स्रोतको अनुसार १२ गाउँको पोस्टर नराखिएको भने होइन ।
तर, अलिकति ओझेलमा थियो । उक्त हलमा एकैपटक तीनवटा फिलिम रिलिज भएका थिए । अगाडिपट्टि दुईवटा मात्रै पोस्टर अट्ने ठाँउ थियो । उक्त ठाउँमा छक्कापन्जा र ज्वाईँसाहेबको पोस्टर थियो । १२ गाउँको अलिकति साइडमा थियो ।
बिराज पुगेपछि यस्तो अन्याय पनि गर्नुहुन्छ ? खै मेरो पोष्टर ? भनेर रिसाउएका थिए। यही क्रममा हातमा दिएको फूल टेबुलमा फालेको क्लिप भाइरल भइरहेको छ ।