|  

सहकारी ठगीको आरोपमा एमाले सांसदका छोरा पक्राउ

११ कात्तिक, काठमाडौं । सहकारी ठगीमा संलग्न भएको भन्दै झापामा प्रदेश सांसदका छोरा सुमन खनाललाई पक्राउ गरिएको छ ।

प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो । वचतकर्ता र शेयर सदस्यको झण्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७ सय ७० रुपियाँ ठगी गरेको देखिएको  छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन ।

कात्तिक ५ गते घरबाटै पक्राउ परेका उनलाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहकारीमा रकम फिर्ता नपाएपछि पीडितले शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो साता खनालविरुद्ध उजुरी परेको थियो ।