|  

जापान चुनाव : सत्तारुढ दलको गुम्यो बहुमत

१२ कात्तिक, काठमाडौं । जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ ।

निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ । प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानी समाचार माध्यमले जनाएको छ । जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ ।

जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो ।

प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिएका थिए । नभन्दै उनलाई आइतबार भएको निर्वाचन परिणामबाट झट्का लागेको छ । एलडीपीको सत्ता साझेदार दल कोमितोका प्रमुख केइची इशी नै आफ्नो जिल्लामा पराजित भएका छन् ।