|  

रास्वपाले मंगलबार बालुवाटारमा प्रर्दशन गर्दै

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदर्शन मंगलबार बालुवाटार केन्द्रित रहने भएको छ ।

पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधसँग सम्बन्धित आरोपमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै विरोध जनाउँदै आएको छ । भोलि मध्यान्ह् १२ बजे निर्धारित यस प्रदर्शनमा देशभरका रास्वपा समर्थकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

रास्वपाका शीर्ष नेताहरूले यस प्रदर्शनलाई सरकारको अधिनायकवादी प्रवृत्तिको प्रतीक मान्दै जनतासँगै उभिएर सरकारको निर्णयको विरोध गर्ने बताइरहेका छन । पार्टीले यो प्रदर्शनलाई संगठनको मात्र मुद्दा नभएर जनताका अधिकार र स्वतन्त्रताको प्रतीकको रूपमा चित्रण गरेको छ । रास्वपाका समर्थकहरूले यस कदमलाई लोकतान्त्रिक मूल्य र मान्यताको हननको रूपमा हेरेका छन । प्रदर्शनमा सहभागी हुन रास्वपाका समर्थकहरू काठमाडौंमा जुट्न सुरु गरेका छन्। नेताहरूले कडा र शान्तिपूर्ण विरोध प्रदर्शनको प्रतिबद्धता जनाएका छन् भने सुरक्षा निकायहरू पनि तयारी अवस्थामा राखिएका छन्।

रास्वपाका नेताहरूले सरकारलाई सचेत गराउँदै यस प्रकारको गतिविधिले जनताका आवाजलाई दबाउन नसक्ने भन्दै विरोध प्रदर्शनमा जनसमर्थन बलियो रहेको उल्लेख गरेका छन् ।