|  

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कात्तिक, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन् ।

पीसीएल र बीएस्सी नर्सिङको छुट्टा छुट्टै नतिजालाई जोडेर हेर्दा ४० प्रतिशत उत्तीर्ण भएको पाइएको हो । परिषद्का रजिस्ट्रार शुक्ला खनालका अनुसार परीक्षामा सहभागी हुनका लागि पीसीएल नर्सिङ तर्फ ९ सय ८३ जनाले फारम भरे पनि परीक्षाका बेला २८ जना अनुपस्थित थिए । उनले पीसीएल नर्सिङ तर्फ ९ सय ५५ जना परीक्षामा सहभागी भएकोमा ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएको बताइन ।

यस्तै बीएस्सी तर्फ कुल २९८ जनाले परीक्षाका लागि फारम भरे पनि ४ जना अनुपस्थित थिए । बीएस्सीमा कुल २ सय ९४ जनाले परीक्षा दिएकोमा १ सय ६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी पीसीएल र बीएस्सीका कुल जोड्दा १ हजार २ सय ४९ जना भएका थिए भने उत्तीर्ण सङ्ख्या ५०० जना (४० प्रतिशत) रहेको छ । परिषद्ले परीक्षामा उत्तीर्णहरूलाई २५ कात्तिक देखि प्रमाणपत्र उपलब्ध गराइने जनाएको छ । प्रमाणपत्रका लागि त्यसअघि नै अनलाइन (खल्ती) एपबाट १२०० रुपैयाँ भुक्तानी गरी आवेदन गर्न सकिने उल्लेख गरेको छ । पुनर्योगमा जानेहरूका लागि भने ३५ दिन अवधि रहेको समेत उल्लेख गरेको छ ।