|  

दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारीमा सरकार रहेको माधव नेपालको आरोप

१२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेको फाइदाका लागि अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको आरोप पनि लगाए । नेपालले थपेका छन्, ‘अहिले आवश्यकता भन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो । उबेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’ नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको टिप्पणी गर्दै उनले पूर्वानुमान गर्नै नसकिने बताए ।

समाजवादी यात्रा गर्दा रोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार र्पुयाइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने भन्दै अध्यक्ष नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने बताए । सहकारीपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए ।