|  

उद्योगीले विद्युत महसुल तिर्न अटेरी गरेकामा वर्षमान पुनको आपत्ति

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उद्योगीले विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन ।

डेडिकेटेड र ट्रंकलाइन विवादबारे आजसामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४ सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंकलाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकोमा आपत्ति जनाएका हुन् । उनले विद्युत प्राधिकरणको नियमावलीअनुसार महसुल तिर्न अटेरी गर्ने उद्योगीमाथि विद्युत चोरीको कसुरमा कारबाही हुन सक्ने चेतावनी दिए । उनले उद्योगीहरुलाई एकैपटक नसके नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नसमेत सुझाव दिए ।

अधिकांश सार्वजनिक संस्थान धारासायी अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणलाई आफूहरुले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएको भन्दै पुनले यो मन नपराउने तत्वहरुले पटकपटक प्राधिकरणलाई कमजोर र धारासायी बनाउने असफल प्रयास गर्दै आएको आरोप लगाए । योपटक पनि त्यही प्रयासको नयाँ संस्करणका रुपमा घटनाक्रमहरु सतहमा आएकाले पूर्वऊर्जामन्त्रीरअर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको जिम्मेवार सदस्य र जनप्रतिनिधिका हैसियतले जनचासोको यति गम्भीर र अहम् सवालमा मौन बस्नु उचित नहुने ठानेर आफ्ना धारणा सार्वजनिक गरेको पुनले बताए ।