|  

नेपालीले खाने नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला

१२ कात्तिक, काठमाडौं । नेपालमा प्रयोग भइरहेका नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला परेको छ ।

नेपालीहरुले खानाको माध्यमबाट प्लाष्टिका सुक्ष्म कर्णहरु (माइक्रोप्लाष्टिक) पनि खाइरहेको अनुसन्धानले देखाएको हो । हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुनसक्ने देखाएको छ । बोतल तथा जारमा राखिएका पानी तथा पेय पदार्थमा प्रयोगबाट अधिक माइक्रोप्लास्टिक सेवन गरिरहेको अनुमान गरिए पनि त्यसबारे अहिलेसम्म विस्तृत अध्ययन भने भएको छैन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले माइक्रोप्लास्टिकको सेवन वा श्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेशले स्वास्थ्यमा पार्ने असरबारे थप अध्ययन आवश्यक रहेको जनाउँदै आएको छ । तर सरकारी स्तरबाट नेपालमा माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने असरबारे कुनै अध्ययन भएको छैन । माइक्रोप्लास्टिकले नेपालीको स्वास्थ्यमा पारेको असरबारे हालसम्म खासै अध्ययन नभए पनि त्यसको पर्यावरणीय प्रभावबारे केही अध्ययनहरू भएको र नेपालका हिमाल, नदीनाला र तालमा प्लास्टिकका सूक्ष्मकण बढिरहेको देखिएको  अध्ययनले देखाएको छ ।

त्रिचन्द्र क्याम्पसको वातावरण विज्ञान विभागका उपप्राध्यापक किशोरकुमार महर्जन र वातावरणविज्ञ रामप्रसाद ढुङ्गेलले नुनमा माइक्रोप्लास्टिकको अवस्थाबारे अध्ययन गर्दै नेपालमा बिक्री हुने प्याकेटका नुनमा उच्च मात्रामा माइक्रोप्लास्टिक पाइएको देखाएको छ । महर्जन र ढुङ्गेलको टोलीले नेपालमा बिक्री भइरहेका पाँच कम्पनीका नुनको देशका विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर परीक्षण गरेको जनाइएको छ । ती नमुनामा प्रतिकिलो ८० देखि १,०४० सम्म माइक्रोप्लास्टिक पाइएको थियो ।