|  

रास्वपा अदालतलाई धम्काउने काममा लागेको महेश बर्तौलाकाे आरोप

१२ कात्तिक, काठमाडौं ।  नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपा अदालतलाई धम्काउने काममा लागेको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले  रास्वपा अनुसन्धानलाई प्रभावित पार्ने, अदालतलाई धम्काउने काममा लागेको आरोप लगाएका हुन् ।

उनले सरकारले कानुन अनुसार काम गर्ने भएकाले कसैलाई फसाउने नियतले काम नगर्ने बताए ।

उनले भने, ‘सरकारले कानुनअनुसार काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीमा आबद्ध छ हेरेर होइन, कानूनले के भन्छ राज्यको अनुसन्धान गर्ने निकायहरुले काम गर्छ । सबै निकायको अनुसन्धानपछि अदालतले फैसला गर्ने हो । कसैलाई फसाउन, कसैलाई बदनाम गर्ने काम सरकारले गर्दैन । अनुसन्धानले गर्ने प्रक्रिया सुरु हुँदै हुल गरेर राजनीतिक प्रतिशोध राखेर किन पक्राउ गरियो भनेर भीड जम्मा गरिएको छ, यो बेठीक छ ।’

प्रमुख सचेतक बर्तौलाले लोकतन्त्रमा कानूनले काम गर्ने प्रक्रियालाई अवरोध गर्नु पनि अपराध भएको बताए ।

उनले थपे, ‘रविजी सांसद एवं पूर्व गृहमन्त्री हुनुहुन्छ । उहाँले सहज रुपमा अनुसन्धानमा सघाउनुपर्ने हो । उहाँहरु विधिको शासन मान्छु भन्नुहुन्छ, पक्राउ गर्न पाइँदैन भन्नुहुन्छ, अदालती प्रक्रिया मान्छु भन्नुहुन्छ, फेरि अदालतकै आदेशबाट पक्राउ गरेको विषयमा मान्दिनँ, खबरदार भन्नुहुन्छ ।’