|  

गृहमन्त्रीलाई काँग्रेसको प्रश्न- गिरिबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो ? 

१२ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई काँग्रेसका सांसदले गिरिबन्धु जग्गामा भएको अनियमितताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर प्रश्न गरेका छन् ।

काँग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले उठाउँदै आएको गिरिबन्धु जग्गालगायतमा भएका भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसद थानीले विगतमा सदनमा उठाएका भ्रष्टाचारका मुद्दाबारे अनुसन्धान भइरहेको छ कि छैन भनेर प्रश्न गरेका हुन् । ‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ? थानीले सोधे । यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले प्रश्न गरेका छन् ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री रमेश लेखक उपस्थित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भए पनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए । मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए ।

व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो । उनले सरकारी कार्यालयमा चिनजानको अधिकारी नभएमा कागज एक टेबुलबाट अर्को टेबुलमा नसर्ने गरेको आफ्नै अनुभव रहेको बताए । सांसदको अवस्था नै त्यस्तो रहेकोमा सर्वसाधारणको अवस्था के होला ? भन्ने उनको जिज्ञासा थियो ।