|  

बिन्दा पाण्डे र उषा किरण तिम्सेनाले बुझाए स्पष्टीकरण

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्सेनाले पार्टीलाई स्पष्टीकरण पत्र बुझाएका छन् ।

महासचिव शंकर पोखरेलले एक साताको समय दिएर पाण्डे र तिम्सेनालाई स्पष्टीकरण पत्र पठाएका थिए । व्यापारी मीनबहादुर गुरुङबाट जग्गा सहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयको विरोधमा पाण्डे र तिम्सेनाले सार्वजनिक टिप्पणी गरेका थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेको भवनबारे सार्वजनिक टिप्पणी गरेको भन्दै सचिवालय बैठक राखेरै उनीहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

‘‘पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने देखिएकाले पार्टी केन्द्रीय सचिवालयको ३९ औँ बैठकको निर्णय अनुसार तपाईँलाई सोही विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्न नपर्ने हो ?’ महासचिव पोखरेलले पठाएको स्पष्टीकरण पत्रमा सोधिएको थियो ।

तर स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले आफूहरूमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको जवाफ पठाएका छन् ।

तर व्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको उनले बताइन् । केन्द्रीय सदस्य तिम्सेनाले पनि आफ्नो अभिव्यक्तिले पार्टीलाई अहित नगरेको बताइन् । आफ्नो अभिव्यक्तिले पार्टीलाई पारदर्शी र जबाफदेही बनाउन सहयोग पुग्ने तर्क जवाफमा दिएको उनले बताइन् ।