|  

एनसेल फाउन्डेसनद्वारा बाढी पीडित बालबालिकालाई शैक्षिक सामाग्री र विभिन्न प्रभावित ठाउँमा राहत वितरण

१४ कात्तिक, काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परि प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो ।

यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामाग्रीहरु गुमाएका थिए ।सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ ।

यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहत वितरण गरेको छ ।