|  

डोनाल्ड ट्रम्प सानो तानाशाह हुन्ः कमला ह्यारिस

१४ कात्तिक, काठमाडौं । कमला ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरेकी छिन् ।

वाशिङ्टन डिसिमा आयोजित सभामा कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सानो तानाशाह भएको टिप्पणी गरेकी छन् । सन् २०२१ को जनवरी ६ मा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेस (संसद भवन)मा आक्रमण गर्नु उक्साएको ठाउँमा ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरिन् ।

ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेसमा आक्रमण गर्न उक्साएको दिन सम्झिदै ह्यारिसले भनिन्, ‘अमेरिकी इतिहासमा सम्भवत पहिलोपटक यो चुनाव स्वतन्त्रता र अराजकताबीचको छनोट हो ।’ डोनाल्ड ट्रम्प अहिले सानो तानाशाहका रूपमा रहको र चुनाव जितेपछि उनी ठूलो तानाशाह बन्ने उद्देश्यमा रहेको उनको आरोप छ ।

यसअगाडि डोनाल्ड ट्रम्पले न्यूयोर्कको चुनावीसभाबाट ह्यारिसमाथि व्यक्तिगत तहमा ओर्लिएर आरोप लगाएका थिए । ट्रम्प र उनका समर्थकले ह्यारिस ‘लो आईक्यू भएकी महिला’ र उनी ‘वेश्वयावृति’बाट राजनीतिमा आएको आरोप लगाएका थिए ।