१५ कात्तिक, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए । अन्तशुल्क स्टिकर छपाईमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असार, २०८१ मा मुख्यसचिव डा। बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
अख्तियारले मुख्यसचिव अर्याललाई सञ्चार सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको सञ्चालक समितिको अध्यक्षको हैसियतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।