१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका छन् ।
नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानविन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका हुन् । सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए ।
पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको धारणा समेत राखे। उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दावी गरे ।
मीन बहादुर गुरुङ एमाले निकट भएकै उनलाई कारण २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।