|  

जाजरकोट भुकम्पको एक वर्ष पुराः अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था

१७ कात्तिक, काठमाडौं । जाजरकोटमा भूकम्प गएको आज एक वर्ष पुरा भएको छ ।

अघिल्लो वर्ष कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लामा १ सय ५४ जनाको मृत्यु भएको थियो । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन । पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढीरपहिरो र डुबानबाट विपद् पीडित थपिए ।

भूकम्पबाट मात्रै ७० हजारभन्दा धेरै घर पूर्ण तथा आशिंक क्षति भएका छन् । तर पुनर्निर्माणका लागि सरकारले चासो नदिएको पीडितको गुनासो छ । सरकारी ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था कष्टकर बनेको छ । एक वर्षभित्रै स्थायी संरचना बनाउने घोषणा गरेको सरकारले काम कहिले थाल्ने हो टुङ्गो छैन ।