|  

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

१७ कात्तिक, काठमाडौं  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागी भएर शनिवार बिहान साढे १० बजे स्वदेश फर्किनेछन् ।

विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् । अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन् । सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन् ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी सहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन् ।

नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ ।