१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई छठ पर्वपछि बुटवल लैजाने तयारी भएको छ ।
रूपन्देही प्रहरीले भोलि म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।
संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार लामिछानेलाई अनुसन्धानका लागि रूपन्देही पठाइदिन एक साताअघि नै पत्राचार गरिसकेको र छठ पर्व सकिएपछि बुटवल ल्याइने छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमा छन । बञ्जाडेलाई यसअघि नै बुटवल ल्याएर बयान लिई कास्की फर्काइएको छ ।