|  

रास्वपाको केन्द्रीय समितिको बैठक आगामी शनिबार बस्दै

१९ कात्तिक, काठमाडौं । सहकारी प्रकरणमा सभापति रवि लामिछाने हिरासतमा रहेका बेला दबाबका लागि प्रदर्शन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक २४ गतेलाई डाकेको छ ।

मंगलबार पोखरामा प्रदर्शन तय गरेको रास्वपाले काठमाडौं केन्द्रित आन्दोलनका लागि २४ गतेलाई केन्द्रीय समितिको बैठक डाकेको छ । सभापति लामिछानेलाई हिरासतबाहिर राखेर नै अनुसन्धान गर्नका लागि रास्वपाको माग छ । राज्य व्यवस्था समितिको बैठकमा सांसद चन्दा कार्कीले यस्तो माग गरेकी थिइन ।

यता यहि कामका लागि उपसभापति डीपी अर्यालको दौडधुप जारी छ । उनले तिहारअघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई भेटेर सभापति लामिछानेलाई हिरासतमुक्त गराउनका लागि पहल गरेका थिए । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्नका लागि उनले प्रयास गरिरहेका छन । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न खोजेका अर्यालले समय पाएका थिएनन ।