२३ कात्तिक, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गरेको छ ।
गृह मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएसँगै सम्बन्धित सुरक्षा निकायहरूले तयारी थालेका हुन् ।
गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो ।
उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने छ ।
समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरूको अध्ययन गरेर काम गर्नेछ ।
त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरूसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।