२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अधिकारका लागि फेरि आन्दोलनको अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज जनकपुधाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संविधानमा उल्लेखित अधिकार प्रदेशलाई हस्तान्तरण गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै उनले प्रदेश सरकार हालसम्म अधिकार सम्पन्न हुन नसकेको बताए । उनले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाई गर्न नहुने बताए ।
संविधानअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउन आफूले पार्टीभित्र आवाज उठाइरहेको भन्दै उनले अरू राजनीतिक दलहरूले पनि सरकरालाई घचघचाउन आवश्यक रहेको उल्लेख गरे । निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरि आन्दोलन हुनसक्ने चेतावनी दिए । संघीयता र प्रादेशिक संरचनाको अनुभूतिका लागि संघीयत सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्नेमा उनको जोड थियो ।