२५ कात्तिक, काठमाडौं । बंगलादेशीलाई भारतको नक्कली आधार कार्ड बनाएर अवैध रूपमा नेपाल प्रवेश गराउने गरेको खुलेको छ ।
नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहका एक जना पक्राउ परेपछि यो खुलासा भएको हो । शुक्रबार भारत-नेपाल सीमामा नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल छिराउने गिरोहमध्येका एक भारतीय नागरिक सोनाई सरकारलाई प्रहरीले पक्राउ गरेको थियो ।
गोप्य सूचनाका आधारमा खोरीबारीको बतासी बदराजोतस्थित एक अनलाइन सेन्टरमा प्रहरीले छापा मारेको थियो ।
त्यस क्रममा तीन थान नक्कली आधार कार्डसहित कम्प्यूटर, हार्ड डिस्क र प्रिण्टर प्रहरीले जफत गरेको छ । अभियुक्त सरकारलाई शनिबार सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।