|  

मानव तस्करीको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ 

२५ कात्तिक, काठमाडौं ।   मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई हवाइजहाजमा काठमाडौं ल्याउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो ।

मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए । अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुगेका थिए । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् ।

कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।