|  

डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै

२५ कात्तिक, काठमाडौं । पछिल्लो तथ्याङ्क हेर्दा डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाले डेङ्गु सङ्क्रमण घट्दै गएको जानकारी दिएको हो । डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन गरिएकाले संक्रमण घटेको दाबी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।

डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा ७ हजार २ सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा ४ हजार ८ सय तीन, तनहुँमा २ हजार ३ सय ७३ , पर्वतमा १ हजार ७ सय ४९, ललितपुरमा १ हजार २ सय ४१, बाग्लुङमा १ हजार २ सय, चितवनमा १ हजार १ सय ७५, भक्तपुरमा १ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।