|  

गाजामा इजरायली आक्रमणः १३ बालबालिकासहित ३० जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । इजरायली आक्रमणमा परी गाजामा १३ बालबालिकासहित ३० जनाको ज्यान गएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ । गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । सन २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा १ हजार २ सय ६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो । इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५ सय ५२ जनाको मृत्यु भएकामा अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।