|  

मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै

२५ कात्तिक, काठमाडौं । मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई आज पक्राउ गरी काठमाडौं ल्याइने भएको छ ।

अधिकारीलाई आज जहाजमार्फत् ाविराटनगरबाट काठमाडौं ल्याएर  प्रहरीमा उपस्थित गराइने भएको हो । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो ।  अधिकारी एमालेमा महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा संगठित सदस्य थिए । एमाले प्रदेश कमिटीले मन्त्री अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपबारे शीघ्र छानबिन र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको थियो ।

कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए । उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए । उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए । मानव तस्करीमा जोडिए पनि अनुसन्धानको दायरामा नल्याएको आरोप लागिरहँदा अधिकारी आफैं प्रहरीमा उपस्थित हुन लागेका हुन् । उक्त प्रकरणमा नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र उनीहरूलाई जापान जाने व्यवस्था मिलाएका तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन । उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।