२५ कात्तिक, काठमाडौं । सेयर बजार बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६२ .५४ अङ्कले बढेर दुई हजार सात सय ३८. ६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज गुराँस लघुवित्त, शृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सानिमा ग्रोथ फन्डको शेयर भने झन्डै सात प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि निकै बढेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको सेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता सेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।