|  

तीन जना मात्र बाेलाइएकाे सम्मेलनमा वन मन्त्रालयबाट ३२ जना सहभागी

२५ कात्तिक, काठमाडौं । अजरबैजानमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलनमा भाग लिन वन मन्त्रालयका करिब तीन दर्जन कर्मचारी पुगिसकेका छन । 

राष्ट्रपति रामचन्द्र पौडेल भने अजरबैजानको बाकु सहरमा हुने सम्मेलनमा भाग लिन आज त्यसतर्फ जाने कार्यक्रम छ । तर यही कार्यक्रममा सहभागी हुन वन मन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा ३२ जना यसअघि नै त्यहाँ पुगिसकेका हुन् । वनमन्त्री शाहीसहित मन्त्रालयका सचिव दीपक कुमार खरालसहितको ३२ जनाको जम्बो टोली अजबैजान पुगिसकेको वन मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले जानकारी दिएका छन् । बन मन्त्रालयको जम्बो टोली नै गएपछि भने मन्त्रालयका कोही पनि कर्मचारी छैनन् । 

देशको अर्थतन्त्र कमजोर भएको बेला राज्यलाई थप आर्थिक भार पार्नेगरी बनमन्त्रीले आफ्नो नेतृत्वमा जम्बो भ्रमण टोली अवरबैजान लगेपछि राज्यलाई भने यो भ्रमणले करोडौं आर्थिक भार थपेको छ । वनमन्त्रीले आफ्ना स्वकिय सचिवसहित वन मन्त्रालयका जम्बो टोली लिएर विदेश गएको प्रति चौतर्फी आलोचना सुरु भएको छ । यस कार्यक्रममा वन मन्त्रालयबाट तीन जनामात्रै सहभागी हुने गरी आमन्त्रण गरिएको थियो । तर वनमन्त्री शाहीकै जोडबलमा ३२ जनाको टोली त्यहाँ पुगेको हो ।

यता, आज प्रस्थान गर्ने राष्ट्रपतिको टोली १३ सदस्यीय रहेको राष्ट्रपतिको सचिवालले जनाएको छ । आजको भ्रमण टोलीमा राष्ट्रपतिको कार्यालयबाट ९ जना र परराष्ट्र मन्त्रालयको ३ जनासहित १२ सदस्यीय टोली अजरबैजान प्रस्थान गर्न लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।