|  

फाल्गुनन्दको सिद्धान्तलाई देशैभर फैलाउन जरुरीः सभामुख

२५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।

फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी-८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् । उनले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्त्वपूर्ण रहेको भन्दै १९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन रहेको बताए ।

सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताए ।