२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतले बिदाई गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै अजरबैजानको बाकुपुग्नेछन्र ।
राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । यही कात्तिक २६ गतेबाट शुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर उनी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।