|  

महिला साफ फुटबलको टिकट विक्रीमा समितिमाथि नै भष्ट्राचारको आरोप

२५ कात्तिक, काठमाडौं । हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको आरोप लागेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आज पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । उनले एन्फाद्वारा टिकट विक्रीका लागि गठन गरिएको पाँच सदस्यीय समितिले नै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन गरी भ्रष्टाचार गरेको आरोप लगाए । एन्फा कार्यसमिसित बैठकले प्रतियोगिताको टिकट दर निर्धारण र व्यवस्थापनका लागि कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रवीण यादव, सुरेश शाह र दामोदर भट्टराईसहित पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले कार्यसमितिको निर्णय र एन्फाको विधान विपरीत टिकट विक्रीका लागि टेन्डर आह्वान गरेको पनि खड्काले बताए ।

टिकटका लागि माउन्ट एभरेस्ट स्पोट्र्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग ८० लाख रुपियाँमा टिकट विक्रीको अधिकार किनेको थियो । तर, माउन्ट एभरेस्टलाई भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलपछि सम्झौता विपरित क्षमता भन्दाबढी टिकट बेचेको आरोप लगाउँदै एन्फाले नेपाल र बङ्गलादेशबिचको फाइनलको टिकट आफैले बेच्ने निर्णय गरेको थियो । फाइनलमा एन्फाले साधारणतर्फ १० हजार र भिआइपीतर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो । तर, एन्फाले निर्णयको पालना नगरी धेरै टिकट विक्री गरेको पनि खड्काको आरोप छ ।