|  

रवि लामिछानेसँग रास्वपाका शीर्ष नेताहरुको भेट 

२६ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पार्टीका शीर्ष नेताहरुले भेट गरेका छन ।

उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन । भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले जानकारी दिए । उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए ।

अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोर्होयाए । भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’