२७ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपका सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो । बुटवल लैजान विहान ५ बजे पोखरा विमानस्थल पुर्याइएका लामिछाने चारघण्टादेखि विमानस्थलमै रहेका छन्। उनलाई विहान ७ बजे भैरहवा लैजाने भनिएपनि खराब मौसमका कारण विमान उड्न सकेन।
बिहान ८ बजेर १५ मिनेटका लागि सारिएको विमानको उडान तालिका भैरहवा विमानस्थलमा भिजिविलिटी कम हुँदा १० बजेर २० मिनेटका लागि सारिएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।