२७ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली सानो र्भयाङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेका मनाङेलाई आजै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको थियो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको जेलर पूर्णबहादुर खत्रीले जानकारी दिए ।
ख ब्लकमा अहिले १५० जना कैदीबन्दी छन । खत्रीका अनुसार डिल्लीबजार कारागारकै क ब्लकमा भने साढे ५ सय कैदीबन्दी रहेका छन् । मान्छेको चाप कम हुने भएकाले मनाङे ख ब्कल नै रोजेको हुनसक्ने कारागार प्रशासनको बुझाइ छ । कैदी चाप कम हुने र हो-हल्ला पनि नहुने, मान्छेको भेटघाटलाई पनि सहज हुने भन्दै अधिकांशजसो भीआईपीहरु डिल्लीबजार कारागारको ख ब्लक नै रोज्ने गर्छन ।